प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाका बारेमा गृहमन्त्री रमेश लेखकसँग स्पष्टिकरण माग गरेको छ। समितिले चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड, आगजनी र जनधनको क्षतिबारे जवाफ दिन गृहमन्त्रीलाई चैत २२ गते ११ बजे बैठकमा उपस्थित हुन बोलाएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले घटनाको जिम्मेवारी र सरकारको भूमिकाबारे प्रश्न उठाएका थिए। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कमजोरीका कारण स्थिति बिग्रिएको आरोप लगाए। उनले प्रदर्शन नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै सरकार निष्क्रिय बसेको भन्दै आपत्ति जनाए।
यसअघि गृहमन्त्री लेखकले प्रतिनिधि सभामा घटनाबारे जानकारी गराउने प्रयास गरेका थिए। तर, सोही दिन राप्रपाका सांसद दीपक बोहराको निधनका कारण संसद बैठक शोक प्रस्ताव पारित गरेर टुंगिएको थियो।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु हुनुका साथै निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। सांसदहरूले आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले नै संरक्षण दिएको आशंका व्यक्त गर्दै प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। समितिले घटनाबारे गम्भीर छलफल गर्ने जनाएको छ।
















प्रतिकृया