निजी क्षेत्रका तीन संगठनले भने : पाथीभरा केवलकारमा बाह्य हस्तक्षेप दुःखद्, स्थानीय रोजगारीको ढोका बन्द हुने खतरा
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार परियोजनाविरुद्ध भइरहेको विरोध र हडतालप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका जिल्लामा जारी हडतालले शैक्षिक, आर्थिक, र सामाजिक जीवनलाई अस्तव्यस्त बनाएको र आम नागरिकले सास्ती भोगेको बताएको छ।
निजी क्षेत्रको भनाइ अनुसार, पाथीभरा केबलकारले धार्मिक, सांस्कृतिक, र साहसिक पर्यटनको प्रवर्द्धन, कृषि र हस्तकलाको विकास, र स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नेमा कुनै दुईमत छैन। तिनीहरूले परियोजना अवरोधलाई विकासको प्रवाहमा रोकथामको प्रयास भन्दै नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।
निजी क्षेत्रले सरकारको पहल र वार्ता प्रक्रियामा विश्वास जनाउँदै विवाद समाधान गर्न आग्रह गरेको छ। पाथीभरा केबलकार परियोजना विशेष गरी वृद्ध, अशक्त, र अन्य यात्रुहरूका लागि सुविधाजनक र सुरक्षित यात्रा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।