सर्वसाधारणका लागि लगातार ३ वटा कम्पनीको आईपीओ खुल्ने भएका छन्। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी, होटेल फरेस्ट इन्, रिज लाइन इनर्जीको आईपीओ खुल्न लागेका हुन्।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ निष्काशन गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आईपीओ आवेदन गर्न पाउनेछन्। आईपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। आईपीओ भर्ने अन्तिम मिति माघ २१ गते तोकिएको छ।
होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि माघ २२ गतेदेखि ३३ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। उक्त आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ।
रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता आईपीओ जारी गर्न लागेको हो। यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।














प्रतिकृया