विश्व बैंकले नेपालमा पुल मर्मतका लागि २० अर्ब ४० करोड दिने
विश्व बैंकले नेपालमा तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको वित्तीय सहायता प्रदान गर्ने भएको छ। आइतबार बसेको बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहयोग स्वीकृत गरेको हो।
वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार, यो सहायता नेपालका रणनीतिक सडक सञ्जालमा रहेका पुलहरूको मर्मत, सुधार तथा सबलीकरणका लागि स्वीकृत गरिएको हो। नेपालमा रहेका पुलहरू दुर्गम तथा शहरी समुदायलाई स्वास्थ्य सेवा, शिक्षा, आर्थिक अवसर तथा अन्य आधारभूत सेवाहरूमा पहुँच उपलब्ध गराउन महत्वपूर्ण छन्।
यस्तै, बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप तथा जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सुदृढीकरणका लागि आर्थिक सहयोग आवश्यक भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।