Advertisement
Ads

‘केयरगिभर’ का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई चाँडै इजरायल पठाइने



Advertisement
Ads

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भयो।

भेटका क्रममा नेपाल–इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’ का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र नेपाललाई कामदारको स्रोत मुलुकका रुपमा सूचीकृत गर्नेबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।

साथै, कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउन पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षाका लागि थप कूटनीतिक सहकार्यको विषयमा पनि दुबै पक्षबीच विस्तृत छलफल भयो।


Advertisement

राजदूत बासले केयरगिभिङ क्षेत्रमा नेपाली कामदारहरुको उत्कृष्टताको प्रशंसा गर्दै, हाल इजरायलमा युद्धविराम घोषणा भइसकेकोले उत्तीर्ण भएका नेपाली कामदारहरुलाई क्रमशः इजरायल लैजाने जानकारी गराए। साथै, कृषि र निर्माणजस्ता क्षेत्रमा पनि नेपाली कामदारलाई संलग्न गराउन सकिने उनले बताए।

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। यो भेटवार्ताले नेपाल र इजरायलबीच श्रमिक आदानप्रदान र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर