सामाजिक विकास कार्यालय, धुलिखेलले ४ प्रकारका सीप विकास तालिमका लागि आवेदन आह्वान गरेको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार भाद्र महिनाको दोस्रो सातादेखि निःशुल्क ३ महिने तालिम सञ्चालन गर्न लागेको हो।
कार्यालयका अनुसार केश श्रृङ्गार तथा सौन्दर्य बेसिक, सिलाई कटाई बेसिक, प्लम्बिङ बेसिक र विद्युत जडान बेसिक तालिम सञ्चालन हुनेछन्। प्रत्येक तालिम ३ महिना अर्थात् ३९० कार्यघण्टाको हुनेछ र प्रशिक्षार्थीबाट कुनै शुल्क लिइने छैन।
तालिममा सहभागी हुन १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सबै तालिमका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ।
केश श्रृङ्गार तथा सौन्दर्य बेसिक र सिलाई कटाई बेसिक तालिम सामाजिक विकास कार्यालय, धुलिखेलमा सञ्चालन हुनेछ। प्लम्बिङ बेसिक तालिम बनेपा नगरपालिका–२ मा र विद्युत जडान बेसिक तालिम धुलिखेल नगरपालिकामा सञ्चालन हुने कार्यालयले जनाएको छ।
दरखास्त फाराम कार्यालयमा उपस्थित भएर भर्न सकिनेछ। साथै कार्यालयको वेबसाइट www.sdokavre.bagamati.gov.np तथा सम्बन्धित तालिम सञ्चालन हुने नगरपालिका वा वडा कार्यालयबाट समेत फाराम प्राप्त गर्न सकिनेछ। आवेदन २०८३ भदौ ३ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्नेछ।
तालिमका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति पेश गर्नुपर्नेछ। प्रशिक्षार्थी छनोट अन्तर्वार्ताबाट गरिने भएकाले तोकिएको मितिमा सम्बन्धित तालिम सञ्चालन हुने स्थानमा सक्कल कागजातसहित उपस्थित हुनुपर्नेछ।
कार्यालयका अनुसार तालिममा गरीब, विपन्न, दलित, महिला, पिछडिएको वर्ग/समुदाय, अपाङ्गता भएका व्यक्ति, जनआन्दोलनमा घाइते, शहिद परिवार तथा एकल महिलालाई प्राथमिकता दिइनेछ। तालिम दैनिक औसत ५ देखि ६ घण्टा सञ्चालन हुनेछ।
अन्तर्वार्ताको मिति भने केश श्रृङ्गार तथा सौन्दर्य बेसिक र प्लम्बिङ बेसिकका लागि भदौ ५ गते, सिलाई कटाई बेसिकका लागि भदौ ४ गते तथा विद्युत जडान बेसिकका लागि भदौ ५ गते तोकिएको छ।

प्रतिकृया