सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। सोमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको छ। यसमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासी स्थानीय बासिन्दा आवेदन दिन योग्य छन्।
त्यसैगरी, जारी पूँजीको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रारम्भिक निष्काशन गरिएको हो। सबै सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गते बन्द हुने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले सूर्यकुण्ड हाइड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा, साथै काठमाडौं थापाथलीस्थित सूर्यकुण्ड हाइड्रोको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेपछि, कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ।

















प्रतिकृया