सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन हुनेछ। सो सेयरमा नेवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा अवधि पुस २३ गतेसम्म थपिनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर थापाथलीस्थित रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

















प्रतिकृया