एमाले नेतृ रामकुमारी झाँक्रीले हरेक समाजले नागरिकको औकातअनुसारकै शासक पाउने भन्दै नआत्तिन आग्रह गरेकी छन्। नेपाल ल क्याम्पसमा आयोजित अन्तर्क्रियामा उनले राजनीतिक दलहरू हरेक प्रश्नको उत्तर दिन तयार हुनुपर्ने धारणा राखिन्।
उनले आफ्नो दल आवधिक निर्वाचनका बेला जनतामाझ जाने र त्यसबेला सबै प्रश्नको जवाफ दिने बताइन्। तर अहिले उठिरहेका कतिपय प्रश्नहरूको उत्तर व्यवहार र काममार्फत नै पहिले नै दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
झाँक्रीले राष्ट्रिय शक्तिहरू कमजोर बनाउने प्रयास भइरहेको भन्दै वामपन्थी शक्तिहरू अझ बलियो बन्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, पछिल्लो आन्दोलनले सबै पक्षमाथि प्रश्न उठाएको उल्लेख गर्दै समाज पनि प्रश्नभन्दा माथि नरहेको टिप्पणी गरिन्।
उनले भनिन्, “हामी हरेक प्रश्नको उत्तर दिन तयार छौँ, तर समाज पनि प्रश्नभन्दा माथि छैन।” उनले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाउने तथा निजी सम्पत्तिमा आगजनी र लुटपाटजस्ता घटनालाई उल्लेख गर्दै त्यस्ता गतिविधि हुँदासमेत सामाजिक रूपमा प्रतिक्रिया स्वरूप उत्सव मनाइएको विषयप्रति प्रश्न उठाइन्।
उनका अनुसार राजनीतिक दलहरूले धेरै प्रश्नको सामना गर्नुपर्नेछ र त्यसका लागि समयमै तयारी गर्न आवश्यक छ।
यसैबीच, सरकारले विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेसँगै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरू आन्दोलनमा छन्। सोही सन्दर्भमा संयुक्त विद्यार्थी संगठनले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।
















प्रतिकृया