शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (माघ ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

सो सेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन अवधि छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि माघ २० गतेसम्म लम्बिनेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी (ICRANP Issuer Rating BB) प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फाराम प्राप्त गर्नका लागि प्रतिदरखास्त २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आसब्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स