लाभांश पारित गर्दै सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न
सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौँ वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ। सभामा ७६ प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति रहेको थियो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू अनुमोदन गरेको छ।
पारित प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। साथै, सभाले लेखापरीक्षकको नियुक्ति, बोनस सेयर वितरणपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका सामान्य तथा विशेष प्रस्तावहरू पनि स्वीकृत गरेको छ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सर्वोत्तम सिमेन्ट भविष्यमा अझ सुदृढ बन्दै देशकै अग्रणी सिमेन्ट कम्पनी बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। उनले सेयरधनीलाई अझ बढी लाभांश दिन सकिने उपायमा कम्पनी निरन्तर क्रियाशील रहेको जानकारी पनि दिएका छन्।
अध्यक्ष न्यौपानेले कम्पनी नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन VRM प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने उद्योग भएको उल्लेख गरे। हाल कम्पनीसँग प्रतिदिन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट र ३ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा रहेको उनले जानकारी दिएका छन्।





