सान्भि इनर्जीको आइपीओ बाँडफाँट मिति तय, कतिले पाउँछन् सेयर ?
सान्भि इनर्जीको आइपीओ बाँडफाँट यही सोमबार, जेठ २६ गते हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बाँडफाँटको मिति तय भए पनि समय भने अझै निश्चित गरिएको छैन।
कम्पनीको आइपीओमा अत्यधिक माग परेको छ, जसका कारण बाँडफाँट गोलाप्रथामार्फत हुने भएको हो। आइपीओका लागि २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको आवेदन दिएका छन्। तर, भाग्यमानी २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ६६ हजार ७०२ जना लगानीकर्ताको हात रित्तो रहनेछ।
सान्भि इनर्जीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ हो।
केयर रेटिङ्स नेपालले सान्भिलाई ‘CARE NP BB+ (Issuer Rating)’ दिएको छ, जसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।