रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइँदै, थुनछेक बहस टुंगिने ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः काठमाडौं जिल्ला अदालतमा प्रस्तुत गरिँदै छ। लामिछानेको पक्षबाट थुनछेक बहस पूरा भए पनि जाहेरी दिने पक्षको बहस नसकिएकाले उनी आइतवारदेखि काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा थुनछेक बहस भइरहेको छ। आइतवार र सोमवार न्यायाधीशले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएका थिए। मंगलबार सार्वजनिक बिदा भएकाले बहस रोकिएको थियो, जसका कारण आज मात्रै थुनछेक बहस सम्पन्न हुने अनुमान गरिएको छ।
यदि आज बहस टुंगिन्छ भने लामिछाने पुर्पक्षका लागि थुनामा रहने वा बाहिर बसेर कानुनी प्रक्रिया अघि बढाउन पाउने निर्णय हुनेछ।
अदालत परिसर बाहिर लामिछानेका समर्थकहरूले लगातार नाराबाजी गर्दै आएका छन्। हिरासतमा लैजाने बेला लामिछानेले समर्थकहरूलाई ‘स्यालुट’ गर्ने गरेका छन्।
लामिछानेलाई सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ गरिएको थियो। उनी ८४ दिनपछि गत बिहीबार ६५ लाख धरौटीमा रिहा भए पनि, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौंमा पुनः बयानका लागि पक्राउ गरिएको हो।
कालिमाटीस्थित सहकारीमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरिएको आरोप लामिछानेसहित ३९ जनामाथि लागेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस गरेको थियो।