राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। उनले यो आन्दोलनमा कुनै पनि हिंसा नहुने र सरकारले पनि हिंसा भड्काउन नपाउने स्पष्ट पारे।
राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति र घटक दलहरूको तयारी बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आन्दोलनको अनुगमन गर्न मानवअधिकार आयोगहरूलाई आग्रह गरे। उनले भद्र अवज्ञा र सत्याग्रहका माध्यमबाट आफ्ना मागहरू अघि बढाइने बताए।
उनका अनुसार यसपटकको आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छाडिनेछ। सत्याग्रहको शक्तिबाट १९० वर्ष पुरानो ब्रिटिस शासन अन्त्य भएको उदाहरण दिँदै उनले भने, “हामी पनि गणतन्त्रलाई सत्याग्रहकै बाटोबाट अन्त्य गर्छौं।”
प्रधानमन्त्रीले संसदमा बोलेका कुरालाई उद्धृत गर्दै लिङ्देनले भने, “प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले भाग्न सकिन्न। हामी पनि भन्छौं— सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टर चढेर जान छुट दिनुपर्छ। हामीले हेलिकप्टरको सुविधा दिनेछौं।”
उनले आन्दोलन इमान्दार र दृढतापूर्वक अघि बढाएर सफल बनाउने दृढता व्यक्त गरे।
















प्रतिकृया