राजारामको सपना र सेयर बजार
सेयर कि लक्ष्मी / गुल्मी जिल्लाको एक विकट गाउँमा सामान्य परिवारमा जन्मिएको एक साधारण व्यक्ति हो राजाराम। अध्ययनमा सानै देखि तेज राजारामले गाउँकै विद्यालयबाट प्रथम श्रेणीमा एस. एल. सी. उत्तीर्ण गर्यो। उच्च शिक्षा अध्ययनका लागि राजाराम बुटवल गयो। बुटवलकै एउटा प्राईभेट स्कुलमा पढाउँदै कलेज पढ्न थाल्यो। मिहेनती राजारामले केहि वर्षको अन्तरालमा फाइनान्समा मास्टर्स गर्यो। शहरमा पक्कि घर बनाउने, गाडी चढ्ने सपना देख्न थाल्यो राजाराम। केहि समय पछि उसले विवाह गर्यो, परिवार भयो।
आफ्नो सपना पूरा गर्न र घर चलाउन अलि राम्रो जागिरको खोजीमा लाग्यो। धेरै प्रयासपछि राजारामले एक संस्थामा मासिक रु. २७,५०० तलबको जागिर पायो। त्यति तलबले घर गाडीको सपना त के परिवार पाल्न समेत धौ धौ हुन थालेपछि राजाराम अतिरिक्त आम्दानीको स्रोतको खोजीमा लाग्यो। सोहि क्रममा उसले काम गर्ने संस्थामै काम गर्ने विकास सरले सेयर बजारमा लगानी गर्ने गरेको र सेयर बाट मनग्गे आम्दानी गरिरहेको कुरा उसको कानमा पर्यो। अनि उसले विकास सर संग सेयर बजारमा लगानी गर्ने बारेमा कुरा गर्यो। समग्रमा आफूले सेयर बजारबाट राम्रो आम्दानी गरेको कुरा विकास सरले राजारामलाई बताए। तर सेयर बजारमा पैसा बनाउने हो भने राम्रै फण्ड लिएर मात्रै लाग्न विकास सरले राजारामलाई सुझाव दिए।
सेयर बजार जोखिमको क्षेत्र हो यहाँ घाटा पनि हुनसक्छ भन्ने कुरा राजारामले बुझेको थियो तर केहि नगर्नु भन्दा त गरेरै जोखिम उठाउनु राम्रो भन्ने लागेर गाउँमा भएको अलिकति जग्गा बिक्रि गरि विकास सरको सिफारिसमा सेयर किन्यो। सामाजिक संजालहरुमा हुने हल्लाखल्ला पनि राजारामका लागि खुराक हुने गर्दथे। राजारामले सेयर किन्दै गर्दा बजारमा उत्साहजनक माहोल थियो। त्यतिबेला बजारले एउटा बुलिश साइकल सक्काएर बजार टप लाग्न लागेको रहेछ। त्यहि बेलामा राजारामले आफ्नो क्षमताले भ्याउनेजति सेयर किनिसकेको थियो। उसले किनेदेखि नै मूल्य घट्न थाल्यो।
केहि महिनाको अन्तरालमै उसले किनेको मूल्यभन्दा ४०/५०% ले सेयरको भाऊ घटिसकेको थियो। केहि महिना अघि सामाजिक संजालमा अहिले नकिने सेयर नै पाईदैन जसरी ‘बुम बुम’ गर्नेहरु अब नबेचे सेयरको मूल्य शुन्यमै पुग्छ जसरी हल्ला खल्ला गरिरहेका थिए। राजारामले आत्तिएर सबै सेयर ५०% घाटामा फाल्यो। जग्गा बेचेर ल्याएको पैसा केहि महिनामै आधा भईसकेको थियो।
यो घटनापछि राजाराम मानसिक रुपमा विक्षिप्त भयो। ऊ अफिसमा पनि राम्ररी काम गर्न सकिरहेको थिएन। राजारामकी श्रीमतीले केहि दिनदेखि राजारामको बदलिदो व्यवहारको कारण सोधिन्। सुरुमा त राजारामलाई अप्ठ्यारो लाग्यो, श्रीमतीले चिन्ता गर्छिन नभनौं जस्तो पनि लाग्यो तर श्रीमतीलाई त भन्नैपर्छ जस्तो लागेर सबै कुराको बेलीविस्तार लगायो। श्रीमती एक विद्यालयकी शिक्षिका थिईन, धेरै कुरा बुझेकी समझदार थिईन। उनले अलि राम्ररी बुझेर, पढेर, अध्ययन अनुसन्धान गरेर मात्रै सेयर बजारमा लगानी गर्नुपर्छ, फेरी सेयर बजारमा गुमाएको पैसा अन्त कतैबाट पनि कमाउन सकिदैन त्यसैले अब पढ्नु, बुझ्नु अनि आफ्नै वुद्धि विवेकमा लगानी गर्नु भनेर राजारामलाई सम्झाईन।
श्रीमतीको कुराले राजारामलाई हौसला मिल्यो। अनि ऊ सामाजिक संजालको हल्ला र कसैको सिफारिस भन्दा पनि समाचारहरु पढ्न थाल्यो, उसले बजारको अध्ययन गर्न थाल्यो। मोमेन्टम, टेक्निकल एनालाइसिस, फन्डामेन्टल एनालाइसिस र कम्पनीहरूको वित्तीय अवस्था बुझ्न थाल्यो। देशको आर्थिक,सामाजिक र राजनीतिक बिषयमा चासो राख्न थाल्यो। कम्पनीहरूका वार्षिक प्रतिवेदन अध्ययन गर्न थाल्यो, बोनस, डिभिडेन्ड, र राइट सेयरका बारेमा सिक्यो बजेट तथा मौद्रिक नीतिका अध्ययन गर्न थाल्यो।अब बजारको माहोल अनुसार चल्ने, रणनीतिक लगानी गर्ने अल्पकालिन,मध्यकालिन र दिर्घकालीन लगानी गर्ने, छोटो समयमा फाइदा खोज्ने सोच त्यागेर लामो समयका लागि राम्रो कम्पनीहरूमा लगानी गर्न थाल्यो।
उसले मजबुत कम्पनीहरू रोज्यो । सेक्टर अनुसारका राम्रा कम्पनीमा लगानी गर्यो केही समयमा नै राजारामको लगानी दोब्बर भयो । अब ऊ सेयर बजारबाटै नियमित डिभिडेन्ड बोनस प्राप्त गर्न थाल्यो । उसले सेयर लोन,जग्गाबाट लोन सहित लगानी थप गर्यो। सेयरबाट मनग्गे मुनाफा आर्जन गर्यो। शहरमा घर बनायो महङ्गो गाडी किन्यो । राजारामलाई सेयरले राजा बनायो। अहिले ऊ समाजमा गन्यमान्य छ। उसको पहिलो जागिरको कमाई भन्दा धेरै त उसले मासिक कर मात्र तिर्छ। अहिले राजाराम हाईहाई छ। राष्ट्रलाई योगदान दिरहेको छ।
सांराश: बिना अध्ययन ज्ञान बिना लगानी गर्नु हतारको निर्णय हो। कमाउन रहर भन्दा पनि सिक्न महत्त्वपूर्ण छ। धैर्यता र रणनीति अपनाएर लगानी गर्यो भने सेयर बजारले नसोचेको राम्रो प्रतिफल दिन्छ । आज राजाराम गणतन्त्रको राजा जस्तै सम्पन्न छ। आर्थिक रूपमा स्वतन्त्र छ । अरूलाई पनि शेयर बजारबारे सिकाइरहेको छ, वित्तिय साक्षरता सँगै आर्थिक रुपमा निर्भर गराउने उसको सोच छ ताकि अरूले पनि उसले जस्तै गल्ती नगरुन, आर्थिक नोक्सान र मानसिक पीडा भोग्न नपरोस भन्ने सोच राख्दछ । तपाईं पनि राजाराम जस्तै बन्नुहोस्। कसैको लहलहैमा हैन सेयर बजारमा बुझेर लगानी गरौं !