संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको नेपाल–चाइना सांस्कृतिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निजी क्षेत्र अघिअघि र सरकार पछिपछि भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव हुने बताए।
उनले चिनियाँहरूले अमूर्त संस्कृतिलाई ‘स्टोरी टेलिङ’मार्फत पर्यटन प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै त्यसले नेपाललाई पनि सिक्न र अनुकरण गर्न प्रेरणा दिने धारणा राखे। मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै पर्याप्त प्रभाव पार्न नसक्ने भएकाले मूर्त र अमूर्त पक्षलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व रहेको बताए।
प्रकृतिमाथि बढ्दो खतरालाई मध्यनजर गर्दै पर्यावरणमैत्री पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रले प्राप्त गरेको प्रगतिसँगै डिजिटल टुरिजम विकासतर्फ पनि ध्यान दिनुपर्ने बताए।
नेपाल र चीनबीच प्राचीनकालदेखि नै चित्रकला, काष्ठकला जस्ता क्षेत्रहरूसँग जोडिएको स्मरण गर्दै मन्त्री पाण्डेले नेपाल–चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै, स्थलमार्ग र हवाईमार्गबाट नेपाल आउने पर्यटकहरूलाई सहज र स्वागतयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।














प्रतिकृया