रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

बाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे।

सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे। तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन्। होटलमा कोठा पाउन कठिन अवस्था छ।

सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो। प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको संख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी खुशी देखिन्छन्।

होटल व्यवसायी संघ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो। महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको संख्या चार हजार २११ छ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन्। उनले भने, ‘आइतबार सार्वजनिक बिदा हुनथालेपछि यसअघि जस्तो बजार सुनसान थिएन। यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ। समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन्।’ सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजार जनाको क्षमता रहेको उनी बताउँछन्।

सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भएपनि पर्यटकीयस्थलका रुपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको संख्या उल्लेख्य रहेको बताए।

होटल व्यवसायी सिलवाका अनुसार नेकपा एमालेको यसअघि सम्पन्न महाधिवेशनपछि रास्वपाको अधिवेशनका कारण अहिले सौराहले प्रचारप्रसारसहित वाह्यपर्यटक पाएको छ।

सौराहाका ‘रेष्टुरेन्ट’ व्यावसायी दीपेन्द्र खतिवडा होटल बासका लागि सोधखोज गर्नेको निकै बढको छ। उनका अनुसार हिजो साँझ अधिकांश सहभागी चितवन आइपुगेकाले आजदेखि सोराह भरिभराउ हुनेछ।

होटल व्यवसायी संघअन्तर्गतका ७३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश भरिएको व्यवसायीले बताएका छन्। संघका निवर्तमान अध्यक्ष कृष्ण भट्ट गत वर्षमा यतिबेला करिब ४० प्रतिशत हुनेगरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताए।

भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं दुई दिनदेखि होटल भरिएको बताउँछन्। महाधिवेशन अवधिभर होटलमा कोठा खाली नभएको बताउँदै उनले भने, ‘हाम्रो होटलमा अरु बेलामा आइरहने पाहुना नै महाधिवेशनमा आएकाले भरिएको छ।’

दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारी झण्डै एक हप्ता अघिदेखि नै महाधिवेशनको चहलपहल र बैठकले होटल भरिएको बताए। महाधिवेशनअघि शनिबार यसै होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो। चितवनमा मात्रै होइन नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन्।

गैँडाकोटमा रहेको ‘द नारायणी रिसोर्ट’का प्रबन्धनिर्देशक रविन पण्डित तीनदिनदेखि आफ्ना दुई वटै होटल भरिएको बताउँछन्। रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन्। होटल व्यवसायीसँग कोठाको विवरण माग गरी रास्वपाका प्रतिनिधिलाई यसअघि पठाइएको थियो।

आयोजकले सोमबारबाट बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेको छ। अन्य समयमा सहभागी आफैँले खाना खानुपर्ने भएकाले होटल व्यवसायमा यसको प्रत्यक्ष रुपमा प्रभाव अहिले चितवनका होटल भरिभराउ भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स