१२ घण्टे लोडसेडिङपछि निजी क्षेत्र आक्रोशित, उद्योगलाई मार्ने नीति लिएको आरोप
नेपालका उद्योगहरूले दैनिक १२ घण्टा लोडसेडिङ भोग्नुपरेपछि निजी क्षेत्रका संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ (CNI) र मोरङ उद्योग संगठनले औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने लोडसेडिङप्रति विरोध जनाएका छन्।
नेपाल उद्योग परिसंघले लोडसेडिङका कारण उत्पादन लागत बढेर उद्योगको सञ्चालनमा गम्भीर असर परेको भन्दै विरोध जनाएको छ। सीएनआईले उद्योगहरूलाई आवश्यक मात्रामा विद्युत आपूर्ति नगर्नु स्वदेशी उत्पादनको प्रवर्द्धन र औद्योगिक विस्तारमा बाधा सिर्जना गर्ने कार्य भएको जनाएको छ। ‘सरकार लगानीको वातावरण बनाउन प्रयासरत रहेको बेला विद्युत प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ लागू गरेर मर्माहत बनाएको छ,’ सीएनआईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले पनि लगातारको लोडसेडिङले औद्योगिक उत्पादनमा ठूलो असर पारिरहेको बताएको छ। एफएनसीसीआईले उत्पादन कटौती गर्नु परेपछि औद्योगिक क्षेत्र तथा व्यावसायिक वातावरणमा संकट देखिएको जनाएको छ। महासंघले बारम्बारको विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी तथा उपकरणहरूमा क्षति पुर्याएको र सोको मर्मत तथा प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका उल्लेख गरेको छ।
मोरङ औद्योगिक संगठनले अघोषित रूपमा दैनिक ६ घण्टा लोडसेडिङ खेप्दै आएका उद्योगहरूमा अब १२ घण्टासम्म बिजुली काटिँदा करिडर नै धरासायी हुने खतरा रहेको बताएको छ।
सरकारले उद्योगलाई नियमित र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।