प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालय सञ्चालकहरूलाई ढुक्क भएर शिक्षामा लगानी गर्न आग्रह गरेका छन्। उनले संविधानले सम्पत्तिको हक सुनिश्चित गरेकाले लगानीकर्ताले कुनै डर नमान्नुपर्ने बताए।
सोमबार काठमाडौंमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीकरण गर्नुपर्ने प्रस्तावबारे आफू छक्क परेको बताए।
“शिक्षा क्षेत्रमा तपाईंहरू लगानी गर्नुस्। सम्पत्तिको हक प्रयोग गर्नुस्। अत्यधिक मुनाफा ननिकाल्नुस्, तर लगानी गरेपछि कानुनले नाफा लिन रोक्दैन,” प्रधानमन्त्री ओलीले भने, “गुणस्तरीय शिक्षा दिनुस्, दक्ष नागरिक उत्पादन गर्नुस्, तर तपाईंहरू जोगी पनि नहुनुस्।”
सरकारले सबै विद्यार्थीलाई निःशुल्क शिक्षा दिन नसक्ने भएकाले निजी क्षेत्रको पनि भूमिका आवश्यक रहेको उनले प्रष्ट पारे। उनले शिक्षा क्षेत्रमा लगानीकर्तालाई नाफामुखी नभई सेवा भावले अगाडि बढ्न सुझाव दिए।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयकबारे उठेका संशोधनहरूलाई शिक्षा क्षेत्रमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै निजी क्षेत्रको लगानी सुरक्षित रहने विश्वास दिलाए।



















प्रतिकृया