प्रधानमन्त्री केपी शर्मा ओली हाल चीन भ्रमणमा छन्, जहाँ उनले चिनियाँ उच्च नेतृत्वसँग आज द्विपक्षीय औपचारिक भेटवार्ता गर्नेछन्। बेइजिङको ग्रेट हल अफ पिपलमा हुने वार्तामा दुई देशबीच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली छ्याङ, जनकंग्रेसका अध्यक्ष झाओ लेजी, र राष्ट्रपति सी जिनपिङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ सहित सम्मान प्रदान गर्नेछ। द्विपक्षीय वार्ता पछि दुबै देशका प्रधानमन्त्रीले सम्झौतामा हस्ताक्षर गर्नेछन्। प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुका साथै बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड, र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।
सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए। उनको प्रतिनिधिमण्डलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी छन्। चारदिने भ्रमणका सबै कार्यक्रम पूरा गरी प्रधानमन्त्री ओली नेतृत्वको टोली मङ्सिर २० गते स्वदेश फर्किनेछ।
















प्रतिकृया