४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मर्मतसम्भारका कारण सञ्चालनमा आउन नसक्दा हिउँदको पिक समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।
हिउँदमा खोला र नदीहरूमा पानीको मात्रा घट्नाले प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता करिब एकतिहाइ घट्ने गर्छ। यस्तो अवस्थामा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने आवश्यकता रहन्छ। तर, भारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्म पिक समयमा विद्युत् आयात गर्न अनुमति नदिँदा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्नु परेको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पिक समयमा औद्योगिक बाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्न नपर्ने स्पष्ट छ। असोजको अविरल वर्षाका कारण माथिल्लो तामाकोशी आयोजनाका संरचनामा क्षति पुगेको थियो। पुस १० गतेभित्र आयोजनालाई सञ्चालनमा ल्याउने र त्यसको १५ दिनभित्र पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनमार्फत ५४ मेगावाट गरी ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ। तर, पिक समयमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म विद्युत् आयात गर्न रोक लगाइएको छ। यो समयभित्र माथिल्लो तामाकोशी जलाशयबाट उत्पादन गर्न सकिने विद्युत् उपलब्ध नभएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको घिसिङले बताए।
पछिल्ला केही घटनाक्रमले पनि विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या थपिएको छ। गत शुक्रबार ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार चुँडिँदा बारा र पर्सा औद्योगिक करिडोर प्रभावित भएको थियो। सोमबार दिउँसो मर्मत सम्पन्न भएपछि आपूर्ति पुनः सुचारु भएको छ। त्यस्तै, दार्चुलाको चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइनमा रुख ढल्दा बैतडीको खोचलेक क्षेत्रमा सर्किट क्षति पुगेको छ। मर्मत कार्य जारी छ।
घिसिङले माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए पिक समयमा जलाशयबाट पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने र दिउँसो बढी आयात गर्ने उपायले समस्या समाधान हुने बताउँदै, आयोजनाको मर्मत तीव्र गतिमा भइरहेको जानकारी दिए। आयोजनाले उत्पादन सुरु नगरेसम्म पिक समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने अवस्था जारी रहने स्पष्ट पारे।



















प्रतिकृया