पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?
AdvertisementAds

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्काशन गरिएको हो।

आयोजना प्रभावित समूह अन्तर्गत पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी अवस्थित पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। दुवै समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओमा पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि माघ ९ गतेसम्म आवेदन खुला रहनेछ। उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

AdvertisementAds

आयोजना प्रभावित आवेदकहरूले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सेबोनबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स