मन्त्रिपरिषद्ले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था अघि बढाउने क्रममा नौ वटा विधेयक संघीय संसदमा दर्ता गर्न स्वीकृति दिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित केही विषयमा पनि निर्णय गरेको भए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने
(क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
(ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
(ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
(ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक
(च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक
(छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
(झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक
२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
३. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा श्री खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने।
५. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।


















![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)
![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)
प्रतिकृया