ओलीले चीन सरकारलाई भने: झापामा रंगशाला, डडेलधुरामा सिटी हल बनाइदिनुस्

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १९ गते
ओलीले चीन सरकारलाई भने: झापामा रंगशाला, डडेलधुरामा सिटी हल बनाइदिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीन सरकारलाई झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल निर्माण गरिदिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए। ती वार्तापछि जारी १२ बुँदे संयुक्त वक्तव्यको पाँचौं बुँदामा नेपालको आग्रह समावेश छ।

नेपालले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकासमा तीव्रता दिन तथा केरुङ-रसुवागढी-चिलिमे २२० केभी सीमा-पार विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई अघि बढाउन पनि आग्रह गरेको छ।

संयुक्त वक्तव्यअनुसार चीनले मुस्ताङको कोरला क्षेत्रमा आन्तरिक क्लियरेन्स डिपो (आईसीडी) र एकीकृत चेक पोस्ट (आईसीपी) निर्माणमा सहजीकरण गर्ने, साथै केरुङ-काठमाडौँ सीमापार रेलवेको सम्भाव्यता अध्ययनलाई जारी राख्ने र रेलवे क्षेत्रमा प्राविधिक जनशक्तिलाई तालिम दिन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

दुवै पक्षले पोखरा र लुम्बिनी जस्ता नेपाली सहरहरू र चिनियाँ सहरहरूबीच हवाई उडान सेवा सञ्चालनलाई प्रोत्साहन गर्ने सहमति गरेका छन्। यसले द्विपक्षीय व्यापार, पर्यटन, र आवतजावतलाई सहज बनाउने विश्वास गरिएको छ।

ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिरो बनाउँदै, चीन-नेपाल ऊर्जा संयुक्त कार्यान्वयन संयन्त्रको उपयोगलाई निरन्तरता दिने, र नयाँ ऊर्जामा सम्भावनाहरू खोज्ने विषयमा पनि सहमति भएको छ। साथै, दूरसञ्चार सेवा प्रदायकबीच सहकार्यलाई बलियो बनाउँदै सीमापार भूमिगत केबलहरूको मर्मत तथा विस्तार परियोजनाहरू अघि बढाइने सहमति भएको छ।

बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भने यो भ्रमणका क्रममा नभए पनि अन्य द्विपक्षीय सहयोगका विषयहरूमा सहमति जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स