रास्वपाको नयाँ नेतृत्वले आज शपथ लिँदै, बाँकी पदाधिकारी सभापतिबाट मनोनयन हुने

रास्वपाको नयाँ नेतृत्वले आज शपथ लिँदै, बाँकी पदाधिकारी सभापतिबाट मनोनयन हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज शपथ ग्रहण गर्दैछन्।

पार्टीका अनुसार गत शुक्रबार सम्पन्न महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य र ७ पदाधिकारीलाई बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा शपथ गराइनेछ। शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने कार्यक्रम छ।

बैठकले बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मनोनयन प्रक्रिया अघि बढाउनेछ। विधानअनुसार सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था छ।

रास्वपा विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन भएका छन् भने बाँकी सदस्य सभापतिबाट मनोनीत हुनेछन्। त्यस्तै, १९ पदाधिकारीमध्ये सभापतिसहित ७ जना निर्वाचित भइसकेका छन् भने बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्नेछन्।

महाधिवेशनअघि पार्टीमा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाह समूह र विवेकशील साझाबाट आएका नेताहरूलाई समायोजन गर्न रास्वपाले विधान संशोधन गर्दै मनोनयनबाट आउने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएको थियो।

पार्टीभित्र समायोजन भएर आएका समूहलाई महाधिवेशनमा प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्न कठिन हुने निष्कर्षपछि उनीहरूलाई मनोनयनमार्फत नेतृत्वमा समेट्ने सहमति भएको थियो। सोही सहमतिअनुसार महाधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत करिब १२ वटा अतिरिक्त पदको व्यवस्था गरिएको थियो, जसमा बालेन समूहलाई समेट्ने तयारी गरिएको थियो।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स