नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो।
यसअघि असार ३२ गते आह्वान गरिएको साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। त्यसपछि सञ्चालक समितिको निर्णयअनुसार पुनः आह्वान गरिएको सभा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुन तथा संस्थाको प्रबन्धपत्र र नियमावलीबमोजिम सम्पन्न भएको हो।
सभामा अध्यक्ष राजकुमार राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय सुधार, सुशासन, जोखिम व्यवस्थापन, निष्क्रिय कर्जा न्यूनीकरण तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए।
साधारण सभामा २१ जना सेयरधनीले निष्क्रिय कर्जा व्यवस्थापन, घाटामा रहेका शाखाको सुधार, जनशक्ति व्यवस्थापन, आन्तरिक विवाद समाधान, समयमै साधारण सभा आयोजना तथा लगानीकर्तालाई नियमित प्रतिफल उपलब्ध गराउने विषयमा सुझाव दिएका थिए।
सेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले संस्थाको व्यवसायिक अवस्था क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटिने बताए।
सभाले सामान्य प्रस्तावअन्तर्गतका पाँचवटै र विशेष प्रस्तावअन्तर्गतका चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। पारित विशेष प्रस्तावमा नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक परे समान प्रकृतिका लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेका छन्।
प्रतिकृया