नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिज प्रक्रियामा भएको अनियमिततामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ कम्पनीलाई प्रतिवादी बनाएर बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सम्पन्न गरी गत साता सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सिआइबीले संगठित अपराध र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा समेत अभियोग गर्न सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले भने ठगीको कसुरमा मात्र अभियोगपत्र दर्ता गरेको छ।
प्रतिवादी बनाइएका ल्हाक्पा सोनाम शेर्पाको बयानसमेत नलिई मुद्दा दायर गरिएको छ। पक्राउ नगर्न उनले उच्च अदालतबाट स्टे अर्डर लिएका कारण उनलाई नियन्त्रणमा नलिइएको हो। तर तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरी अदालतमा पेस गरिएको छ।
बोलपत्रकै क्रममा सम्झौता रकम घटाएर चार अर्ब ८६ करोड २५ लाख नोक्सान गरेको, तीन तलाको सम्झौता भएकोमा पाँच तला बढाएकाले त्यसबापतको ३८ करोड ८४ लाख ५३ हजार रुपैयाँ नेपाल ट्रस्टलाई घाटा भएकाले त्यसको बिगो कायम गरिएको छ ।
यसैगरी, बाटो प्रयोजनका लागि छुट्याइएको तीन आना जग्गासमेत प्रयोग गरिएको देखिएकाले त्यसबापत ५३ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
यस प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यले तारा एयरमार्फत बालकोटमा घर लिएको देखिएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप अनुसन्धान हुनुपर्ने राय सिआइबीले दिएको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया