राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो चुनावी घोषणा पत्र

राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो चुनावी घोषणा पत्र

राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। बुटवलमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा तथा महासचिव मनोज भट्टले घोषणा पत्र प्रस्तुत गरे।

अध्यक्ष केसीले घोषणा पत्र सार्वजनिक गर्दै नेपाली जनताले विगतका गल्ती आगामी चुनावमार्फत सच्याउनुपर्ने बताए। उनले भ्रष्ट र जनविरोधी व्यक्तिहरू तथा दललाई नहेरी हल्लाका भरमा जिताउँदा देश र जनताले ठूलो दुःख भोगेको स्मरण गर्दै राष्ट्रियता, संविधानको रक्षा, भ्रष्टाचारविरुद्धको संघर्ष, सुशासन र संघीयताको खारेजीका लागि राजमोका उम्मेदवारहरूलाई जिताउन अपील गरे।

महासचिव भट्टका अनुसार घोषणा पत्र तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा अध्यक्ष केसीको अपील समेटिएको छ, जसमा किन र के का लागि उम्मेदवारलाई मतदान गर्ने स्पष्ट गरिएको छ। दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्था विश्लेषण गरिएको छ, जसमा कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको आन्दोलन भएको र यसलाई विदेश शक्तिको आडमा हाइज्याक गरी देश जलाइएको आरोप लगाइएको छ। तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरू समावेश छन्।

घोषणा पत्रले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता, अमेरिकी सहायता परियोजना एमसीसी खारेज, एसपीपी सम्झौता रोक्ने लगायत माग अघि सारेको छ। साथै, यातायात क्षेत्रको समग्र विकास, लुम्बिनी पुरातात्विक सहर निर्माण, पहाडमै आधारभूत विकास, दुर्घटना न्यूनीकरण तथा विदेशस्थित नेपालीलाई मताधिकार सुनिश्चित गर्न स्पष्ट खाका प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स