बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै नास आईटीको स्वागत

बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै नास आईटीको स्वागत

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका नीतिगत कदमहरूको स्वागत गरेको छ।

NAS-IT ले जारी गरेको विज्ञप्तिमा बजेटमा आईटी सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, आईटी क्षेत्रका जनशक्तिलाई प्रदान गरिने स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, व्यक्तिगत आयकरको अधिकतम दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्ने व्यवस्था तथा भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने प्रतिबद्धता सकारात्मक रहेको जनाएको छ।

त्यस्तै, दोहोरो कर परिहार सम्झौता (DTAA) विस्तार गर्ने घोषणा, कृत्रिम बुद्धिमत्ता (AI), नवप्रवर्तन तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूलाई पनि आईटी उद्योगको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

संस्थाले बजेट निर्माणका क्रममा आफूहरूले सरकारसमक्ष पेश गरेका पूर्व-बजेट सुझावमध्ये धेरै विषय समेटिएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायलाई धन्यवाद दिएको छ। यी व्यवस्थाहरूले आईटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सिर्जना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास NAS-IT ले व्यक्त गरेको छ।

यद्यपि, संस्थाले आफूहरूले प्रस्ताव गरेका केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक सुधारहरू बजेटमा समावेश हुन नसकेको जनाएको छ। आईटी उद्योगका लागि कम्तीमा १० वर्षसम्म कर नीतिको स्थायित्व, निश्चित अवधिसम्म १ प्रतिशत आयकरको विशेष व्यवस्था, निर्यात प्रोत्साहन क्रेडिट, सरकारी सफ्टवेयर खरिदमा स्वदेशी कम्पनीलाई प्राथमिकता तथा राष्ट्रिय आईटी प्रवर्द्धन बोर्ड स्थापना जस्ता विषयलाई आगामी दिनमा प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।

NAS-IT का अनुसार स्थानीय SaaS, क्लाउड तथा उत्पादन-आधारित आईटी कम्पनीहरूको प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तारका लागि लक्षित कार्यक्रम तथा लगानीमैत्री नीतिहरूले नेपाललाई क्षेत्रीय डिजिटल हबका रूपमा विकास गर्न मद्दत पुग्नेछ।

संस्थाले आईटी उद्योगका लागि प्रस्ताव गरिएको १ प्रतिशत आयकर व्यवस्था केवल कर सहुलियतको विषय नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुदृढ गर्ने रणनीतिक आवश्यकता भएको उल्लेख गरेको छ। फिलिपिन्स, पाकिस्तान, बंगलादेश, काजाकिस्तान र भियतनामजस्ता प्रतिस्पर्धी मुलुकहरूले आफ्नो प्रविधि उद्योगलाई विशेष कर तथा नीतिगत प्रोत्साहन दिइरहेका बेला नेपालले पनि समान स्तरको प्रतिस्पर्धी नीति अवलम्बन गर्नुपर्ने NAS-IT को धारणा छ।

नेपालको आईटी उद्योगसँग आगामी दशकमा प्रमुख निर्यात क्षेत्र बन्ने, ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्ने तथा लाखौं उच्च पारिश्रमिकयुक्त रोजगारी सिर्जना गर्ने क्षमता रहेको उल्लेख गर्दै संस्थाले यस सम्भावनालाई साकार बनाउन सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको जनाएको छ।

बजेटमा समावेश सकारात्मक व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै NAS-IT ले नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्र (टेक हब) का रूपमा विकास गर्ने सरकारको प्रतिबद्धताको स्वागत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स