मेलम्चीको पानी गोकर्णका बासिन्दाले नपाए आपूर्ति ठप्प पार्ने सांसद पाण्डेको चेतावनी

मेलम्चीको पानी गोकर्णका बासिन्दाले नपाए आपूर्ति ठप्प पार्ने सांसद पाण्डेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाउने अवस्था तत्काल अन्त्य नभए काठमाडौंतर्फको पानी आपूर्ति रोक्नेसम्मका कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मेलम्चीको ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा आफ्नै क्षेत्रमा पानी नपाएर काकाकुल हुनुपरेको भन्दै असन्तुष्टि जनाए। मुहान क्षेत्रका नागरिक नै खानेपानीबाट वञ्चित हुनु स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन, यदि गोकर्णका जनताले पानी पाउँदैनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु ।’

सांसद पाण्डेले खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकहरूको मिलेमतो रहेको आरोप पनि लगाए। कर्मचारीहरूले आफ्नो इच्छाअनुसार केही टोलमा पानी छोड्ने र केही स्थानमा नछोड्ने गरेको भन्दै उनले वितरण प्रणालीमा गम्भीर लापरबाही रहेको बताए।

आफूले पनि पानीको धारा जडान गर्ने क्रममा कर्मचारीको गैरजिम्मेवार व्यवहार र बेथिति भोगेको उल्लेख गर्दै उनले आम नागरिकले अझ बढी सास्ती झेल्नुपरेको बताए।

आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भएर नयाँ प्रक्रियामा जान लागेको विषय उल्लेख गर्दै उनले दोस्रो चरणको पाइपलाइन विस्तारमा भएको ढिलाइले स्थानीयलाई थप समस्या परेको बताए।

उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) तथा आयोजनामा कार्यरत इन्जिनियर र कर्मचारीलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गर्दै कर्मचारीतन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण जनतामा असन्तुष्टि बढेको बताए।

सांसद पाण्डेले सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गर्दै आफ्नो निर्वाचन क्षेत्रका नागरिकको समस्या बेवास्ता गरिए पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कडा कदम चाल्न आफू पछि नहट्ने चेतावनी दिए।

–न्युज एजेन्सी नेपाल

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स