नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकका रूपमा निरन्तरता नगर्ने तयारी गरेको छ। यसबारे हालसम्म औपचारिक निर्णय नभए पनि क्यानको आगामी बोर्ड बैठकमा यसबारे अन्तिम निर्णय हुनेछ । क्यान स्रोतका अनुसार यसबारे देसाईलाई जानकारी समेत दिइसकिएको छ।
भारतीय नागरिक मोन्टी देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। प्रारम्भमा उनले टिमलाई केही उल्लेखनीय सफलतामा पुर्याए पनि पछिल्लो समय टिमको प्रदर्शन कमजोर देखिएको छ।
मोन्टी देसाईको नेतृत्वमा नेपालले विश्वकप प्री-क्वालिफायरमा जादुमय तरिकाले १२ खेलमध्ये ११ खेल जित्दै २०२३ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सफल भएको थियो। यससँगै नेपालले पुनः चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन सफल भयो। उनले नेपाली क्रिकेट टिमलाई पहिलो पटक एशिया कपमा स्थान दिलाएका थिए।
सन् २०२४ को टि-२० विश्वकपमा नेपालले चार खेल खेलेकोमा तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको एक खेल वर्षाका कारण रद्द भएको थियो। विश्वकपपछि नेपालले आफ्नै घरेलु मैदान ,अमेरिका र क्यानडामा लिग २ अन्तर्गतका खेलहरू खेलेको थियो। ती खेलहरूमा पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन।
लिग २ को पछिल्लो शृङ्खलामा नेपालले १२ खेल खेलेकोमा ८ खेलमा हार व्यहोरेको छ। नेपालको अंक तालिकामा स्थिति कमजोर छ, जहाँ नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ।
मोन्टी देसाईको प्रशिक्षणकालमा नेपाली टिमले सुरुवाती सफलताहरू हासिल गरे पनि पछिल्लो प्रदर्शनले उनको भूमिकामा सन्तोषजनक प्रभाव देखाउन सकेन। विशेषतः नामिबिया, नेदरल्यान्ड्स, अमेरिका, क्यानडा, तथा स्कटल्यान्डसँगको कमजोर प्रदर्शनका कारण देसाईभन्दा अनुभवी प्रशिक्षक ल्याउनुपर्ने प्रसंग उठेको थियो।





















प्रतिकृया