धरानलाई खानेपानी माग्न रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ संघीय सरकारको ध्यानाकर्षण गराउन सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका छन्। धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारले कुनै ठोस कदम चाल्न नसकेको भन्दै मेयर सम्पाङले यसअघि धरानको भानुचोकमा पनि रित्तो गाग्री बोकेर प्रदर्शन गरेका थिए।
मेयर सम्पाङले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर धरानको पानी समस्याबारे जानकारी गराउने योजना बनाएका छन्।
धरानमा खानेपानीको समस्या नयाँ नभएर पुरानै चुनावी एजेन्डा बन्दै आएको छ। ४१ वर्षसम्म खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिए पनि समस्या समाधान हुन सकेको छैन। खानेपानीको अभावका कारण धरानमा पटक–पटक ठूला विवादसमेत हुने गरेका छन्।