जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिँदै आफ्नो २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका शर्माले भ्रष्टाचारविरुद्ध संघर्षदेखि रुकुमको गरिबी अन्त्यसम्मका विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले राजनीतिमा व्याप्त विकृति र विसङ्गति अन्त्य गर्ने, राजनीतिलाई व्यापार तथा व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम बनाउने प्रवृत्तिविरुद्ध लड्ने तथा जनमतको दुरुपयोग र प्रतिशोधको राजनीतिलाई निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिबद्धता पत्रमा सभ्य, सम्पन्न, शान्त र लोकतान्त्रिक समाज निर्माणमा जोड दिइएको छ। गाली–गलौचमार्फत आफूलाई राम्रो देखाउने प्रवृत्ति, अपारदर्शिता, विलासिता र पारिवारिक स्वार्थजस्ता अभ्यासलाई अन्त्य गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, सुशासन र नीतिगत सुधारमार्फत भ्रष्टाचार नियन्त्रण गर्ने, जनचेतना अभिवृद्धि र संस्थागत संरचना सुदृढ गर्दै भ्रष्टाचार निवारणमा सक्रिय रहने प्रतिबद्धता जनाइएको छ।
रुकुममा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि जल, जमिन, जङ्गल, खानी तथा पर्यटकीय क्षेत्रको अधिकतम उपयोग गरिने योजना पनि सार्वजनिक गरिएको छ। सूचना प्रविधिको प्रयोगमार्फत युवालाई स्वरोजगार बनाउने, देशमै रोजगारी र जिल्लामै अवसर सिर्जना गर्ने, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा आगामी दस वर्षभित्र गरिबी, बेरोजगारी र विभेदमुक्त समाज निर्माण गर्ने लक्ष्य राखिएको छ।















प्रतिकृया