मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेको छ, जसअन्तर्गत चार बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्नेछन्। कुमारी बैंक लिमिटेडको नेतृत्वमा माघ १८ गते लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा एम. ए. पावर प्रा. लि. का अध्यक्ष अनुप आचार्य तथा कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक, र सिद्धार्थ बैंकको संयुक्त लगानीमा ऋण सम्झौता सम्पन्न भएको छ। हाल चार वित्तीय संस्थाबीच सम्झौता भए पनि आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने जनाइएको छ। आयोजनाको कुल लागत २० अर्ब २५ करोड रुपैयाँ रहेको छ, जसमा ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी रहनेछ।
ऋण लगानीतर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैंक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब, र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब रुपैयाँ लगानी गर्नेछन्। स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने, र दिपक बराल संलग्न छन्।
साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि स्वपुँजी लगानीका लागि आवश्यक सम्पत्ति दायित्व मूल्याङ्कन (ड्यु डिलिजेन्स) अध्ययन अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ, र २०८६ साल वैशाख २२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिनेछ।
आयोजनाबाट उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेसन (२२०/१३२ केभी) मा जोडिनेछ। परियोजनाको प्राविधिक परामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रा. लि. रहेको छ, भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस गरिएको छ।
यो आयोजनाले गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका, र तनहुँ जिल्लाको भानु नगरपालिकाको क्षेत्रलाई समेट्नेछ। हालै सम्पन्न सेतीखोला जलविद्युत् आयोजनासँग सम्बद्ध प्रवर्द्धक समूहले यो परियोजनालाई पनि अघि बढाइरहेको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया