होलीमा दुर्घटना भए इसेवाले ब्यहोर्छ, १० रुपैयाँमै बीमा!
नेपालको अग्रणी डिजिटल वालेट इसेवाले होली पर्वलाई सुरक्षित र उत्तरदायी रूपमा मनाउन ‘होली केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध छ।
फागुन २४ देखि ३० गते (मार्च ७ – १४) सम्म लागू हुने यस योजनाले आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्दै होलीलाई निश्चिन्त रूपमा मनाउन सहयोग गर्नेछ। बीमा योजनाअन्तर्गत २,३०,००० रुपैयाँ बराबरको सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ, जसमा दुर्घटना बीमा अन्तर्गत २,२०,००० रुपैयाँ र अस्पताल खर्च सहायता अन्तर्गत १०,००० रुपैयाँको सुविधा उपलब्ध हुनेछ।
होली हर्ष, उमंग र रङको पर्व भए पनि खेल्ने क्रममा विभिन्न दुर्घटनाहरूको जोखिम रहन्छ। चिप्लिने, लड्ने, जलन वा अन्य आकस्मिक घटनाबाट सुरक्षित रहन ‘होली केयर’ बीमा योजना उपयोगी हुने इसेवाले जनाएको छ। बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिने छ ।
इसेवाले होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन सबैलाई सचेत रहन आग्रह गर्दै ‘होली केयर’ बीमा योजनाको फाइदा लिन अनुरोध गरेको छ।