नेपालको ऊर्जा क्षेत्रमा चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति देखिएको छ। देशको कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ भने आन्तरिक उत्पादन बढेसँगै भारततर्फ विद्युत् निर्यातमा नयाँ कीर्तिमान बनेको छ। विद्युत् प्रयोग विस्तार हुँदा पेट्रोलियम पदार्थको आयातसमेत उल्लेखनीय रूपमा घटेको देखिएको छ।
सरकारका अनुसार कुल जडित विद्युत् क्षमतामध्ये जलविद्युत्को हिस्सा सबैभन्दा धेरै ३ हजार ७ सय ९८ मेगावाट रहेको छ। यस्तै, सौर्य ऊर्जाबाट १४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् १०६.२४ मेगावाट, तापीय ऊर्जाबाट ५३.४ मेगावाट तथा चिनी उद्योगबाट सह-उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
उत्पादनमा निजी क्षेत्रको भूमिका अत्यधिक देखिएको छ। राष्ट्रिय ग्रीडमा जडान भएको कुल ३ हजार ९ सय ९७ मेगावाट विद्युत्मध्ये निजी क्षेत्रबाट मात्रै २ हजार ५ सय ८७ मेगावाट उत्पादन भएको छ। नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ६६१.५७ मेगावाट र प्राधिकरणका सहायक कम्पनीमार्फत् ७४८.४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ। प्रसारण पूर्वाधार पनि विस्तार हुँदै गएको छ। ६६ केभी वा सोभन्दा माथिको राष्ट्रिय प्रसारण लाइनको लम्बाइ ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ भने ३३ केभी प्रसारण लाइन ८ हजार २ सय २५ सर्किट किलोमिटर पुगेको छ। वितरण लाइनको लम्बाइ पनि बढेर १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ।
विद्युत् उत्पादन वृद्धि भएसँगै आयातमा निर्भरता घट्दै गएको छ। चालु आर्थिक वर्षको फागुनसम्म नेपालले भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ। यो परिमाण गत आर्थिक वर्षभर भएको २ हजार ३ सय ३२ गिगावाट घण्टा निर्यातभन्दा बढी हो। यस अवधिमा भारतबाट ५९० गिगावाट घण्टा विद्युत् आयात गरिएको छ।
ऊर्जा क्षेत्रमा आएको विस्तारले अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिएको छ। चालु आर्थिक वर्षमा विद्युत् तथा ग्यास क्षेत्रको आर्थिक वृद्धिदर २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ।
विद्युत् प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोलको आयात १० प्रतिशत र डिजेलको आयात ९.९ प्रतिशतले घटेको छ। विद्युतीय चुलोको प्रयोग बढ्दा एलपी ग्यास आयात ११.१ प्रतिशतले घटेको छ। यस्तै, मट्टितेल आयात ४७.७ प्रतिशत तथा हवाई इन्धन आयात ८.६ प्रतिशतले कमी आएको छ।
देशको कुल ऊर्जा खपतको संरचनामा पनि परिवर्तन देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल ऊर्जा खपतमा दाउराको हिस्सा ४८.९ प्रतिशत, पेट्रोलियम पदार्थ २१.८ प्रतिशत, विद्युत् १२.१ प्रतिशत तथा अन्य स्रोत १७.२ प्रतिशत रहेको छ। परम्परागत ऊर्जाको हिस्सा घट्दै जाँदा विद्युत्को प्रयोग क्रमशः बढिरहेको सरकारको भनाइ छ।
सरकारका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप ६६६ मेगावाट विद्युत् उत्पादन थपिने अनुमान गरिएको छ। यससँगै नेपालको कुल विद्युत् क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै, फागुनसम्म निजी क्षेत्रका १५८ जलविद्युत् आयोजनालाई थप २ हजार ४ सय मेगावाट क्षमताको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र दिइएको छ। हालसम्म २२५ आयोजनाका लागि १० हजार ६ सय २९ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको सरकारको तथ्यांक छ।

प्रतिकृया