आईपीओ निष्काशनको तयारीमा रहेको हुलास फिनसर्भको नाफा ८४.४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ९३%

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २५ गते
आईपीओ निष्काशनको तयारीमा रहेको हुलास फिनसर्भको नाफा ८४.४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ९३%
AdvertisementAds

व्यवसायी शेखर गोल्छाको नेतृत्वमा रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीको व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी बढेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल कर्जा ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट ५२ प्रतिशतले बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले निष्क्रिय कर्जा नियन्त्रणमा समेत सुधार गरेको छ। अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर गत आवमा १.८७ प्रतिशतमा झरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २६.०४ रुपैयाँबाट बढेर ४८.०४ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ।

असार मसान्तसम्म कम्पनीको साधारण जगेडामा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ। गत आवको नाफासँगै अघिल्लो आवसम्मको सञ्चित मुनाफा जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस आधारमा कम्पनीसँग कुल सञ्चित नाफाको करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता देखिएको छ।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हो। कम्पनीले सन् २०१२ देखि हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ। दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरका लागि कम्पनीले उपभोक्ता फाइनान्सिङ सेवा उपलब्ध गराउँदै आएको छ।

गोल्छा ग्रुपअन्तर्गत रहेको कम्पनीले बुक बिल्डिङमार्फत २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरिरहेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ रहेको छ। हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको कम्पनीमा ८५ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी १५ प्रतिशत सेयर हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्सलगायत ६ जनाको स्वामित्वमा रहेको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन्।

कम्पनीले देशको असहज आर्थिक अवस्था र तरलता संकुचनका बीच पनि वित्तीय प्रदर्शन मजबुत रहेको जनाएको छ। सम्पत्तिको गुणस्तर कायम राख्न अन्डरराइटिङ मापदण्डमा कडाइ गर्नुका साथै सुरुवाती चरणमै असुली प्रयासलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स