लाइन लाग्ने र सिलिण्डर थुपार्नेलाई ठेगान लगाउन ‘आधा ग्यास’ को जुक्ति, आधा सिलिण्डर भोलिदेखि नै बजार पठाउने तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
लाइन लाग्ने र सिलिण्डर थुपार्नेलाई ठेगान लगाउन ‘आधा ग्यास’ को जुक्ति, आधा सिलिण्डर भोलिदेखि नै बजार पठाउने तयारी
AdvertisementAds

बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र उपभोक्ताको अनावश्यक सञ्चय (होर्डिङ) गर्ने प्रवृत्ति बढेपछि सरकारले आधा तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार साँझ बस्ने बोर्ड बैठकले ७.१ किलो तौलको आधा सिलिण्डर बिक्री गर्ने विषयलाई मूर्त रूप दिने तयारी गरेको हो। हल्लाका भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास थुपार्न थालेपछि बजार सन्तुलन मिलाउन यस्तो कदम चालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

अहिले बजारमा पूर्ण तौल अर्थात् १४.२ किलोको सिलिण्डरको मूल्य १,९१० रुपैयाँ कायम छ। सञ्चालक समितिले आधा तौलको सिलिण्डर पठाउने निर्णय गरेमा यसको मूल्य ९५५ रुपैयाँ पर्नेछ। भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पर्याप्त ग्यास पठाइरहेको भए तापनि उपभोक्ताले अभाव हुने डरले खाली सिलिण्डर भर्न थालेपछि आपूर्ति प्रणालीमा दबाब परेको हो। निगमले मार्च महिनाका लागि ५२ हजार मेट्रिक टनको कोटा तय गरेको छ, जुन अघिल्ला महिनाको तुलनामा बढी हो।

यो निर्णय कार्यान्वयनमा आएमा भोलि (शुक्रबार) वा शनिबारदेखि नै ग्यास उद्योगीहरूले ७.१ किलो तौल भरेर बजार पठाउने छन्। यसअघि २०७२ सालको नाकाबन्दी र कोभिड-१९ को समयमा पनि आपूर्ति सहज बनाउन सरकारले आधा तौलको सिलिण्डर प्रचलनमा ल्याएको थियो। यद्यपि, उद्योगीहरूले आधा सिलिण्डर उत्पादन र वितरण गर्दा ढुवानी, श्रम र प्याकेजिङ खर्च करिब दोब्बर हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। थोरै ग्यास धेरै परिवारसम्म पुर्‍याउने उद्देश्यले चालिएको यो कदमले डिपोहरूमा लाग्ने लामो लाइन कम हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स