मधेशका केहि जिल्लामा पछिल्ला केहि दिनदेखि देखिएको तनावपूर्ण अवस्थाका कारण दबाबमा परेको सेयर बजारमा शुक्रबार सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेको छ।
मधेशका केही जिल्लामा विकसित घटनाक्रमका कारण लगानीकर्तामा बढेको अन्योल र मनोवैज्ञानिक दबाबले पछिल्ला कारोबार दिनहरूमा बजारमा बिक्री दबाब बढेको थियो। राजनीतिक तथा सामाजिक अस्थिरताको सम्भावित प्रभावप्रति लगानीकर्ता सचेत बन्दा बजारमा उतारचढाव देखिएको विश्लेषण गरिएको थियो। सुनसरीको कप्तानगंजबाट सुरु भएको तनाव अन्यत्र पनि फैलिएपछि कतै सिङ्गो मधेश नै धार्मिक द्वन्द्वको चपेटामा पर्ने त होईन भन्ने त्रास बढेको थियो।बिहीबार दिउँसो सिरहामा केही व्यापारिक भवनमा आगजनी भएको देखिने तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका थिए। ती सामग्री सार्वजनिक भएपछि स्थानीय बासिन्दासहित सर्वसाधारणमा त्रास र अन्योलको अवस्था झनै बढेको थियो। घटनापछि सुरक्षा अवस्थाप्रति चासो बढ्नुका साथै लगानीकर्ता तथा व्यवसायीहरूमा पनि परिस्थिति थप जटिल बन्न सक्ने चिन्ता देखिएको थियो। गत भदौ २४ मा देशका विभिन्न स्थानका महत्त्वपूर्ण संरचना तथा थुप्रै व्यापारिक भवनमा आगजनी र तोडफोड भएका घटनाले लगानीकर्ता तथा सर्वसाधारणको मनोविज्ञानमा गहिरो प्रभाव पारेको थियो। बिहीबार सिरहाबाट सार्वजनिक भएका आगजनीका तस्बिर र भिडियोहरूले धेरैलाई त्यही घटनाक्रमको सम्झना गराइदिएका थिए। त्यसले लगानीकर्तामा पुनः असुरक्षाको भावना बढाएको र त्यसको मनोवैज्ञानिक प्रभाव सेयर बजारमा पनि देखिएको बजार विश्लेषकहरूको भनाइ छ।
यसैबीच, अवस्था सामान्य बनाउन सरकारले पछिल्ला दुई दिनमा सक्रिय पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बिहिबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै सबैलाई शान्ति, संयम र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेका थिए। उनले सरकार नागरिकको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताएका थिए।
त्यसपछि गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज पुगेर घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गर्दै वार्ता र सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास गरेका थिए।
आज प्रधानमन्त्री शाहले मधेश केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका छन्। भेटमा उनले मधेशको विकासप्रति सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई कुनै पनि हालतमा खलबलिन नदिन सबै राजनीतिक दल र समुदायलाई सहयोग गर्न आग्रह गरेका थिए।
सरकारका यी पहलपछि तनाव केही मत्थर हुँदै गएको संकेत देखिएसँगै लगानीकर्ताको मनोबलमा पनि सुधार आएको बजार विश्लेषकहरूको भनाइ छ। त्यसको प्रभाव आजको कारोबारमा देखिएको मानिएको छ, जहाँ केही दिनदेखि निरन्तर दबाबमा रहेको बजार हरियालीतर्फ फर्किएको छ।
२७००-२७०५ को जोन महत्वपूर्ण
शुक्रबार कारोबारको सुरुवातदेखि नै नेप्सेमा उतारचढाव देखिएको थियो। एक समय परिसूचक २,६५४ अंकसम्म झरेको बजार अन्तिम समयमा आएको खरिद चापसँगै करिब ३० अंकले रिकभर गर्दै २,६८५ अंकमा बन्द भयो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसबीच, बजारको चिरफारको पोडकास्टमा प्राविधिक विश्लेषक सन्तोष सिंह लिङ्देनले नेप्सेका लागि २,६७० र २,७०५ अंकलाई महत्त्वपूर्ण स्तरका रूपमा उल्लेख गरेका थिए। उनका अनुसार औसतभन्दा बढी कारोबारसहित नेप्से २,७०५ अंकमाथि पुगेमा बजारले थप गति लिन सक्छ। तर २,६७० अंकभन्दा तल झरेमा बिक्री दबाब बढ्दै बजार २,६०० अंक आसपाससम्म झर्न सक्ने प्राविधिक सम्भावना रहेको उनको भनाइ थियो।
नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]
प्रतिकृया