पियोर इनर्जी लिमिटेडले आज (फागुन २०) गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
पहिलो चरणमा आयोजना प्रभावित बाँके जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मिति फागुन २० देखि चैत ५ गतेसम्म खुला हुनेछ, तर सबै कित्ता बिक्री नभएमा चैत २० गतेसम्म लम्बिन सक्नेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणलाई छुट्याइने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयर छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि आवेदन अवधि चैत ५ गतेसम्म मात्र रहनेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले भने बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, नेपालगन्ज, कोहलपुरस्थित नबिल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, तथा कुमारी बैंकका विभिन्न शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
यदि पहिलो चरणमा छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारण समूहमा थप गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिनेछ। पियोर इनर्जीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
गोल्यान ग्रुप अन्तर्गतको यो सोलार कम्पनी हाल बाँकेमा १०-१० मेगावाट क्षमताका दुई सौर्य आयोजना सञ्चालन गरिरहेको छ, जुन २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बनेको छ।
















प्रतिकृया