गोल्यान ग्रुपको सोलार कम्पनी पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ खुला गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ९ गते
गोल्यान ग्रुपको सोलार कम्पनी पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ खुला गर्दै

पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी पियोर इनर्जीले हाल बाँकेमा १०-१० मेगावाट क्षमताका दुई सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजना २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्मको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी हो।

पहिलो चरणमा आयोजनास्थल बाँके जिल्लाका स्थानीय बासिन्दालाई कुल जारी पुँजीको २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि फागुन २० देखि चैत ५ गतेसम्म रहनेछ, तर सबै कित्ता बिक्री नभएमा निष्काशन मिति चैत २० गतेसम्म लम्बिन सक्नेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणलाई छुट्याइने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयर छुट्याइएको छ। यसमा पनि न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्म फागुन २० देखि चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले भने बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, नेपालगन्ज र कोहलपुरस्थित नबिल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, तथा कुमारी बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन्।

यदि पहिलो चरणमा छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारण समूहमा थप गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ। पियोर इनर्जीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स