ग्लोबल आईएमई बैंकले मुलुकमा लघु, साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकले कार्यक्रमको औपचारिक घोषणा गर्दै देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट इन्क्युबेसन कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार उद्यमशाला कार्यक्रमको उद्देश्य नयाँ सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित बनाउन आवश्यक ज्ञान, सीप तथा परामर्श उपलब्ध गराउनु हो।
कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको शुभारम्भ गर्दै उद्यमीहरूले भोग्ने साझा चुनौती समाधानका लागि यो प्लेटफर्म तयार गरिएको बताए। उनका अनुसार विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, मार्गदर्शन र समस्या समाधानका उपाय प्रदान गरिनेछ।
बैंकले उद्यमशाला कार्यक्रमअन्तर्गत इन्क्युबेसन र एक्सिलेरेसन गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। इन्क्युबेसन कार्यक्रम नयाँ व्यवसाय सुरु गर्न इच्छुक तथा नवप्रवर्तनकारी सोच भएका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता विकास, व्यवसायिक सञ्जाल विस्तार र मार्गनिर्देशन उपलब्ध गराइनेछ।
यस्तै, एक्सिलेरेसन कार्यक्रम हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि सञ्चालन गरिनेछ। यसमार्फत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सरोकारवाला निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।
कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंक तथा वित्तीय संस्थासँगको पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्।
ग्लोबल आईएमई बैंकले बैंक अफ द इयर, बेस्ट बैंक नेपाल, युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल तथा बेस्ट इम्प्लोयरलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको जनाएको छ।
Discover more from BAJARKO CHIRFAR
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया