नेपाल आयल निगमले आज (असार ३१ गते)देखि देशभर पुनः साविककै १४.२ केजीको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।
निगमका अनुसार अब उपभोक्ताले प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ तिरेर १४.२ केजीको पूर्ण आकारको ग्यास खरिद गर्न सक्नेछन्।
यसअघि आपूर्ति प्रणालीलाई सहज बनाउन भन्दै निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ केजीको आधा सिलिन्डर मात्रै बजारमा पठाउने व्यवस्था लागू गरेको थियो। तर, इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरी हबबाट हुने ग्यास लोड व्यवस्थामा सुधार आएको र बजारमा पूर्ण आकारको सिलिन्डरको माग उच्च रहेकाले निगमले पुरानै व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो।
निगमले बजारबाट ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा फिर्ता नभएसम्म केही समय दुवै प्रकारका सिलिन्डर बजारमा सँगै देखिन सक्ने जनाएको छ। त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ।
यसैगरी, भारतबाट एलपी ग्यासको आयात नियमित र सहज रूपमा भइरहेकाले बजारमा ग्यास अभाव हुने सम्भावना नरहेको निगमले जनाएको छ। आपूर्ति सहज रहेकाले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगरी दैनिक आवश्यकताअनुसार मात्रै खरिद गर्न पनि निगमले उपभोक्तासँग आग्रह गरेको छ।

प्रतिकृया