साउने सोमबारका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि नि:शुल्क बस सेवाको व्यवस्था गरेको छ। दर्शनार्थीहरूलाई सहज बनाउन कोषले चारवटा बस सञ्चालनमा ल्याएको छ, जसले चक्रपथ परिक्रमा गर्नेछ। यी बसहरूमा यात्रा गर्दा कुनै भाडा तिर्नु पर्ने छैन। उक्त सेवा साउन महिनाका चारवटै सोमबार निरन्तर चल्नेछ।
त्यस्तै, मारवाडी समाजले पनि भक्तजनका लागि नि:शुल्क भोजनको व्यवस्था मिलाएको छ। यो सेवा सोमबार बाहेकका दिनहरूमा पनि निरन्तर उपलब्ध हुने बताइएको छ।
साउन महिनाको सोमबार हिन्दू धर्मावलम्बीहरूका लागि विशेष मानिन्छ, जसमा भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको पूजा–आराधना गर्ने गर्छन्। साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। दर्शनलाई व्यवस्थित बनाउन मन्दिरका चारवटै मूल ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।
पशुपति क्षेत्र विकास कोषले आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अनुमान गरेको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया