नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो।
ओझाले ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षको जिम्मेवारी हासिल गरेका हुन्। अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। प्रारम्भिक चरणमा १२ जनाले आवेदन दिएका थिए, जसबाट पाँच जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। अन्ततः तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो, जहाँ ओझाले बाजी मारे।
३३ वर्षीय ओझा बीमा प्राधिकरणको इतिहासमै सबैभन्दा कम उमेरका अध्यक्ष हुन्। सञ्चार, वकालत, कर्पोरेट व्यवस्थापन, र नीति विश्लेषणमा १२ वर्षको अनुभव बोकेका ओझा यसअघि विभिन्न सञ्चारमाध्यममा आर्थिक पत्रकारको रूपमा कार्यरत थिए।
ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। उनी नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघजस्ता संस्थाहरूमा विज्ञका रूपमा समेत संलग्न रहिसकेका छन्। साथै, काठमाडौंका विभिन्न प्रतिष्ठित कलेजहरूमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तन विषय अध्यापन गराउँदै आएका छन्।




















प्रतिकृया