वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशको अर्थतन्त्र जोखिममा: गभर्नर पौडेल

वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशको अर्थतन्त्र जोखिममा: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली तथा सामाजिक संरचनामा गम्भीर असर पुर्‍याइरहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक करिब ३.६ बिलियन डलर बराबरको राजश्व नोक्सानी वित्तीय अपराध र मनी लाउन्डरिङका कारण भइरहेको उल्लेख गरे। उनका अनुसार यसले विशेषगरी विकासोन्मुख देशहरूमा बैंकिङ प्रणाली, अर्थतन्त्र र सामाजिक संरचनामा नकारात्मक प्रभाव पारेको छ।

गभर्नर पौडेलले आर्थिक क्षतिभन्दा पनि मानवीय मूल्यको क्षति अझ भयावह रहेको बताए। वित्तीय अपराधले सामाजिक–आर्थिक खाडल गहिरो बनाउने, मानव पूँजीको अवमूल्यन गर्ने तथा युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको उनको भनाइ छ। नवप्रवर्तन र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनले उल्लेख गरे।

उनका अनुसार सीमापार हुने वित्तीय अपराधले कानुनी छिद्र, नियामक कमजोरी र प्रविधिगत दाउपेचको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्छ। यसले अपराधको पहिचान र अभियोजनलाई झन् जटिल बनाएको छ। त्यसैले उनले प्रतिक्रियात्मक होइन, निरोधात्मक सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। प्रारम्भिक पहिचान र हस्तक्षेपले संस्थागत जोखिम घटाउने, प्रतिष्ठा जोगाउने र ठूलो क्षतिबाट बचाउने उनको तर्क छ।

साथै, उनले बैंकिङ, बीमा, धितोपत्र र सहकारी क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिका रूपमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। आजको जोखिम मात्र नभई भोलिका अनिश्चितता सामना गर्न सक्ने सुदृढ प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स