अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार उक्त निर्णय गरेको हो।
निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। फिफाले जारी गरेको निर्णयअनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फाका राष्ट्रिय टोली, उमेर समूहका टोली तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
यसका साथै एन्फा तथा यससँग आबद्ध सदस्य संस्था र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) ले सञ्चालन गर्ने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा सहभागी हुनबाट वञ्चित हुनेछन्। फिफा र एएफसीबाट एन्फाले प्राप्त गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगसमेत प्रभावित हुने भएको छ।
फिफाले अर्को फिफा कंग्रेस बस्नुअघि नै आवश्यक अवस्था सिर्जना भएमा फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले जुनसुकै समयमा पनि निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।

प्रतिकृया