२ अर्ब २८ करोड लगानीमा ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
२ अर्ब २८ करोड लगानीमा ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुँदै

गोरखाको गोरखा नगरपालिका–१३ स्थित अबुवामा ९.८४ मेगावाट क्षमताको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ। मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडले करिब रु २ अर्ब २८ करोड लागतमा आयोजना निर्माण गर्न लागेको हो। आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) र वातावरण प्रभाव मूल्याङ्कन (EIA) तयार भइसकेको छ भने विद्युत् खरिद प्रक्रिया (PPA) पनि सम्पन्न भएको कम्पनीले जनाएको छ।

डिपिआरअनुसार, आयोजनाको बाँध अबुवा पुलबाट ५०० मिटर माथि सतिढुङगामा निर्माण गरिनेछ भने पावर हाउस तीन किलो नजिकै रहेको सिमलगैरीमा स्थापना गरिनेछ। आयोजनाको निर्माण कार्य २०८२ सालको सुरुवातसँगै शिलान्यास गरी प्रारम्भ गरिने योजना रहेको छ। आयोजनाले कुल १४ हेक्टर क्षेत्रफल ओगट्नेछ, जसमा ६ हेक्टर जग्गा मुआब्जा दिएर अधिग्रहण गर्नुपर्नेछ। हाल मुआब्जा वितरण प्रक्रिया अगाडि बढिरहेको छ। निर्माण कार्यलाई तीव्रता दिइएको छ, जसअनुसार दुई वर्ष ६ महिनाभित्र, अर्थात् सन् २०२७ जनवरीसम्म आयोजना सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको छ।

आयोजना ‘पिकिङ रन अफ दि रिभर’ (PROR) मोडलमा निर्माण गरिनेछ। यसका प्रवर्द्धकहरू नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारी समाज हुन्, जसमा डा. डम्बरहादुर नेपालीको नेतृत्वमा ९ जनाको कार्यकारी टिम रहेको छ। पूर्वकर्मचारीहरूले आर्जित ज्ञान, सीप, दक्षता, अनुभव, र पूँजीलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो आयोजना अगाडि बढाइएको कम्पनीले जनाएको छ।

आयोजनाको कुल लागतको ३०% स्वपूँजी र बाँकी ७०% बैंक ऋणमार्फत जुटाइनेछ। स्वपूँजीको ७५% प्रवर्द्धकले लगानी गर्नेछन्, १५% सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (IPO) मार्फत संकलन गरिनेछ, र बाँकी १०% आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स