कांग्रेसका प्रवक्ता महत भन्छन्, “रवि छुट्यो भनेर हल्ला मच्चाइरहेका छन् निर्दोष भएर होइन धरौटीमा छुटेका हुन्”
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले रास्वपा सभापति रवि लामिछानेलाई अदालतले निर्दोष ठहर नगरेको बताएका छन्। उनले रवि लामिछाने धरौटीमा छुटेको तर अदालतले दोषमुक्त भने नगरेको स्पष्ट पारे।
शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले रवि लामिछाने निर्दोष भएको भए अदालतले सोझै छाड्ने अवस्था आउने उल्लेख गरे। उनले भने, “सरकारले गलत मुद्दा दायर गरेको हो भने अदालतले सिधै छोडिदिन्थ्यो। तर, अदालतले धरौटी मागेको छ, जसको अर्थ केही समस्या छ भन्ने हो।”
प्रवक्ता महतले रवि लामिछानेको छुटाइलाई लिएर भइरहेको प्रचारप्रति टिप्पणी गर्दै भने, “उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्। तर, धरौटी माग्नुको अर्थ के हो? अदालतले ६५ लाख धरौटी राख्न लगाएको छ भने त्यसको कारण छ। केही समस्या नभएको भए अदालतले धरौटी माग्ने थिएन।”
उनका अनुसार, मुद्दा नटुंगिदासम्म अदालतले रविलाई सहुलियतस्वरूप धरौटीमा छोडेको हो। उनले जोड दिँदै भने, “अदालतले निर्दोष भनेको होइन, मुद्दा अझै टुंगिएको छैन।”