नेपाली कांग्रेसले उपनिर्वाचनको नतिजालाई ‘एक्लै लडेर प्राप्त स्थान सन्तोषजनक र उत्साहवर्धक’ भन्दै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ।
महामन्त्री विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गर्दै पार्टीले लोकतान्त्रिक प्रणाली प्रति नागरिकको समर्थन र ऐक्यबद्धता बलियो बनाएको बताएका छन्।
रिक्त ४४ स्थानमा कांग्रेसले १९ स्थानमा विजय हासिल गरेको छ, जसलाई सङ्ख्यात्मक रूपमा कम भए पनि राजनैतिक र गुणात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ।
यस पटक ०७९ मा जितेका केही स्थान गुमाए पनि कांग्रेसले अन्य दलका जितेका स्थानमा विजय प्राप्त गरेको उल्लेख गरिएको छ। पार्टीले जित र हारको वस्तुगत समीक्षा गर्दै आगामी चुनावी रणनीति निर्माणका लागि त्यसलाई महत्त्वपूर्ण ठानेको छ।
साथै, उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पराजित भएको र भ्रमपूर्ण सूचनाको बलमा मन र मत जित्न सकिने भ्रम परास्त भएको बताउँदै, कांग्रेसले पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता आवश्यक रहेको जनाएको छ। विज्ञप्तिको अन्त्यमा, ‘चुनावी दौड सकिएको छ, अब सबै तिता नमिठा भुलेर काममा जुटौँ’ भन्दै पार्टीले आह्वान गरेको छ।



प्रतिकृया